बिच शहरको भब्य महलमा दिपावली गरिएको छ। अनेक मिस्ठान्न परिकारका बास्ना बाहिर सम्म आइरहेछ। गन्यमान्य ठुला प्रतिष्ठित ब्यत्तिहरुको बाक्लै चहलपहल छ। महल मालिक पुर्ब मन्त्री धनबहादुर आफ्नो लामा जुँघा को ताउ लाउदै पाउना माझ भनिरहेका छन् - देख्नु भयो सत्य कै जित हुन्छ। म माथी बित्थामा पचास करोड भ्रष्टाचार गरेको आरोप लगाइयो तर न्यायमुर्तीहरुले न्याय दिनुभयो। उसको पक्षमा वकालत गर्ने वकिल लाई अङ्कमाल गर्छ। न्यायाधीश को छेउ गएर नमस्कार गर्दै पाउमा झुक्न खोज्छ। र भिडतिर कुटिल मुस्कान छर्छ। यो सबै घटित भएको एक हप्ता पछि एउटा खबर शहरमा फैलन्छ । धनबहादुरको जग्गा हडपेर बसेको आरोपमा रामलखन बिरुद्ध मुद्दा दर्ता भयो रे! वरपरका बुढापाका चिया गफमा कुरा ओकल्थे - " बिचरा रामलखन.. छोरीको बिहे को लागि जग्गा धनबहादुरकोमा बन्धकि राखेर पाँच बर्ष अघि सात लाख ऋण लिएको थियो। त्यही घरमा निकै बर्ष पसिना बगायो। आज त्यसको बदला सडको बास हुदैछ । खै! भगवानको यो कस्तो न्याय हो।" टेलिभिजनमा उहीँ धनबहादुर देखिन्छ्न। उहीँ सान । उहीँ ठाँट। उस्तै दम्भयुत्त बोली। र त्यही कुटिल हासो। पत्रकारको अघि बोल्दैछन - सत्यको जित हुन्छ भन्ने कुरा फेरि एकपटक प्रमाणित भएको छ। न्यायका मुर्तिहरुप्रती हार्दिक नमन।