शहर बजार तिर
समथर भुभागतिर
धेरै मध्येका केही उहाहरुलाई
नदि आफ्नो लाग्यो ।
रहरले
डरले
करले
छलले
बलले
-नदिको सिमाना आफ्नोमा पार्नुभयो
उसको बाटो बदल्नुभयो
बदल्न खोज्नुभयो
उसलाई सानो सुरुङ भित्र बगाउनुभयो
जति जे पनि गर्नुभयो
जति जे जे भयो
उ शान्त भएको बेला गर्नुभयो
उ मौन रहेको बेला गर्नुभयो ।

आज उसमा बलभरिएको छ
आफ्नो गुमेको जमिन फिर्ता लिदैछ
आफ्नो अस्तित्वमा धावा बोल्दैछ
हर एक हिसाब ब्याज सहित असुल गर्दैछ।

बदलाको बिचारले बदलिएको बेला
गल्ती नगर्नेले पनि सजाय भोग्दैछन
अन्यायमा परेकाको याचना नसुनी प्रकृति गर्जिन्छ-
एभ्रिथिङ इज फेअर इन लभ एन्ड वार।

भिर पाखा तिर
उहाँहरुलाइ घरमा सडक पुर्याउने रहर लाग्यो
उहाँहरुनै इन्जिनियर बन्नुभयो
उहाँहरुले नै वातावरण प्रभाव मुल्यांकन गर्नुभयो
बलियो पहरा थङ्थिलो पर्यो
जेलिएको जराको हात छिन्यो
मर्किएको
चर्किएको
थर्किएको
पहाडले पानी बोकेर उभिरहन सक्दैन
मेरुदण्ड मरक्क भाचिन्छ
उसका माशंपेशिले
खेत पुर्छ
घर पुर्छ
अव्यवस्थित बितरणले
बिकास -बिनास बन्छ।

गल्ती गर्नेले त गरे ,सजाय पाए
निर्दोषले पनि सजाय पाउदैछन
अन्यायमा परेकाको याचना नसुनी
प्रकृति गर्जिन्छ-
एभ्रिथिङ इज फेअर इन लभ एन्ड वार ।