मौसम पुर्बानुमान बिभागले भनेअनुसार नै पछिल्लो बयालिस घण्टा देखि निरन्तर झरी परिरहेको थियो।
म आफ्नो साघुरो कोठामा ब्रह्माण्ड भन्दा फराकिलो सपना बुन्दै फुकाउदै समय बिताउदै थिए। चिसो बाताबरणले चिस्सिएको शरीरलाइ एक कप तातो कडा कालो चियाले तताउन मन लाग्छ।
घडिले दिनको दुई बजेको संकेत गर्छ। म दुई पटक चिया सुरुप्प पार्दै चौध इन्चको टि.भि को च्यानल सात पटक चेन्ज गर्छु। र , एउटा बजिरहेको समाचारमा रोकिन्छ हात। रोकिन्छ आँखा । चनाखो हुन्छ कान।
बज्छ:

पहिलो समाचार

निरन्तरको बर्षाले बढेको खोलाले छेउछाउका बस्ती र उर्बर जमिनलाइ बगाएको छ।  सत्र जना हराइरहेका छन। नदिजन्य पदार्थको बढ्दो उत्खनन् र प्रभाबका आधारमा नदि छेउ बनाइएका संरचनाले बहाब मा परिबर्तन आएर जोखिम बढेको हो।
मलाइ लाग्छ - अनगिन्ती सपना , योजना , चाहना , खुशीलाई बगर बनाएको छ।

दोस्रो समाचार
पहिरो खस्दा तीन घर पुरिएको छ। पाँच जना हराइरहेका छन। बीस घर रहेको उत्त बस्ती नै जोखिम मा परेको छ। बाताबरण प्रभाव मुल्यांकन नगरी जथाभावी खनिएको सडक नै अहिले महासंकट बनेको छ।
मलाइ लाग्छ - रहर , चाहना , भबिश्य निस्कन नसक्ने गरि पुरिएको छ। थिचिएको छ।

तेस्रो समाचार

प्रभावित क्षेत्रको अबलोकन गरेर विभिन्न मन्त्री र सांसदहरु फर्किएका छन। हेलिकप्टर ल्यान्ड गर्न समस्या भएकाले पिडित संग भेट हुन नसकेकोमा दुखि भएको बताउनुभयो।
मलाई लाग्छ - रमाइलो नाटक मन्चन भएको थियो। बिना टिकट हेरेर आए। यो चुनावी मौसम थिएन  जसरी नि भेट्न । यो त मनसुनको मात्तिएको स्वरुप न थियो  । मर्कामा जाबो जनता न थिए!

भयाबह दृश्यहरुले हृदय बिक्षिप्त बन्छ। म टि. भि बन्द गरीदिन्छु। अन्तिम घुड्को चिया संगै लामो श्वास लिन्छु।
केही आफ्नै लोभले। केही प्रभाबले। केही दबाबले । प्रकृतीलाइ आफू अनुकुल चलाउन खोज्नाले बिपत्ती मृत्युको बिगुल फुक्दै आउँछ। हामी निरीह प्राणी बाढी पहिरो र  डुबान मा निलिन्छौ ।
हरेक बर्षको मनसुन सुरु भएसंगै चकनाचुर हुने मनहरु ।बिलिन हुने जिबनहरु ।बालुवा जसरी बगिजाने धनहरुको भरपाइ कसले गर्छ?
     गड्याङग्ग.....
बाहिर र मन भित्र एकैपटक चट्याङ पर्छ।