संयोग - एक
RFC रेस्ट्रो ।नेपालटार। दिनको तीन बजे। भोकले डोर्याएर लगेको थियो। कोरोना को डरले अलि राम्रो ठाउँ पनि खोज्दै थियो। हुनत राम्रो ठाउँ मा कोरोना नहुने त कहाँ हो र... (हा-हा-हा) ! म हास्छु। आवाज ननिकाली। माक्सले छोपेको थियो कलेज पढ्दा कसैकसैले भन्ने गरेको - फिदा बनाउने मुस्कान। सायद कसैले देखेको भए यता पनि फिदा बन्ने थिए कि?
हुक्का को धुवाँ। अनेक फ्लेबरका सुगन्ध सास सङ्गै फोक्सो सम्म पुग्छ। नखाएरै लठ्ठ हुन्छु म ।सायद नशा केहिको पनि नलिने भएर हो कि?
धेरैका जोडि थिए। केहिका साथिका समूह। म एक्लो बृहस्पति। कुनाको एक खाली देखिएतिर तेर्सिए। अन्जान मै केही नजर मतिर तेर्सिएर धुवाँ संगै उड्दै आए झै लाग्छ। फेरि त्यो मेरो भ्रम पनि हुन सक्छ।
मेरो अर्डर पछि आँखा यताउता डुलाउछु। अघिल्तिर धुवाँको कुहिरो बाक्लो थियो। अलि लामो कपाल । ह्वाइट टि- सर्ट । हट पाइन्ट। एडिडास को ह्वाइट सुज। खिरिलो तर पोटिलो शरीर। आँखा अन्त मोडिन मान्दैन। उनको गुलाबी अधर लाइ चुमेर आएका सेता हावाहरुले मलाइ छुन्छन। जहाँ जहाँ चुम्छन त्यहाँ त्यहाँ सुस्तरी स्पर्श गर्न खोज्छन औंलाहरुले ।
के बुझिन या नबुझेरै म तिर एउटा सुन्दर मुस्कान पठाउछिन। मुटुमै चसक्क हुन्छ। अझ त्यो नशालु आँखा को धारीलो हेराइ । बाहिरी गर्मी या एप्पल फ्लेबरले रातो बनाएको गाला।
अनि ब्याकग्राउण्ड मा बज्दै गरेको पुरानो गित -" को हौ तिमी ? मेरो को हौ तिमी ?"
समयले साथ दिदै थियो। आखाले प्रश्न गर्दै थियो- उनको आँखा संग।
अर्डर को बर्गर आइपुग्छ। भोक हराएर भोगको तहमा बिचरण गर्न लाग्दैथियो।
- " ह्या! डिस्ट्रब गर्यो यार ।"
मनले मन मनै भन्छ।
म आफ्नै सुरमा खान लाग्छु। बेला बेला मलाई झुक्याउदै नजर पल्लो तिर पनि धुवाँ भित्र तैरदै थिए।
चार जनाको उनको समुह। सायद साथी हरु। किनकी उहि उमेरका थिए। दिदी बहिनी भएका भए केही फरक देखिनुपर्थ्यो। मेरो आफ्नो विश्लेषण। र उनका आँखा ले पनि उनलाई छल्दै थिए।
यो पनि मेरो भ्रम थियो कि??
फोन बज्छ ।
ओहो! बिर्सिएको ।आज सुमन र सिताराम संग भेट्ने कुरा थियो।
म आफ्नो लोकेसन बताउछु।
एक दुई पटक सेल्फी खिच्ने बहाना मा उनी मलाई पनि आफ्नो एप्पल भित्र कैद गर्दै थिइन। त्यस्तै लाग्यो ।किनकी हरेक क्लिक पछि एक मुस्कान को झिल्का मतिर आउथ्यो।
अर्को एउटा पेप्सि रित्तिदा उनिहरु आइपुग्छ्न।
तर उनी निस्कने तरखरमा हुन्छिन् ।तर अलि बेचैनी। अलि मन गर्हुङ्गो। फेरि पनि मेरो भ्रम हुन सक्छ।
तर अन्तिम वाक्यले आशा जगाउछ- भोलि पनि तीन बजे तिर आउने है!
हेराइ आफ्नातिर तर प्रहार मलाइ थियो। भ्रम नै सहि म मन मक्ख पर्छ।
म केटाहरु संगै रमाउन थाल्छु। पुराना - मिठा कुरामा ।
तर मन हामी माथी घुमिरहेको सिलिङ फ्यान जत्तिकै घुमिरहेको थियो।
ब्याकग्राउण्डमा बज्दै थियो - सुशान्त के . सि को " ओठ तिम्रो गुलाबी .."
0 Comments
Post a Comment